बाबियाचौर -म्याग्दी), ४ चैत/ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भीर पहराहरूमा पाइने आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन् हुनसकेका छैन । सिलाजित उत्खनन् गरी उपभोग गर्नेतर्फसम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्षेनि करोडको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्याम्रूककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, विमलगायत गाविसका पहरामा सिलाजित पाइन्छ । सिलाजित उत्खनन् गर्नतर्फसम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निरास भएको ज्याम्रूककोटका शिवराम शर्मा बताउनुहुन्छ । नुनिलो र टर्र्रो स्वाद हुने सिलाजित भीर पहरामा मात्र पाइन्छ । सिलाजित कालो र सेतो गरी दुइ किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर सिलाजित बन्ने गरेको बताइन्छ ।
कालो सिलाजित को रस नियमित सेवन गर्नाले घातु, गानो गोला, ग्यास्टि्रक, नसासम्बन्धीलगायत रोग निको हुने जनविश्वास रहेको छ । सिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यको लागि निकै फाइदा हुने जिल्ला आयुर्वेदिक अधिकृत डा. रामचन्द्र ढकालको भनाइ छ । बजारमा माग भए पनि उत्खनन् गर्ने आधुनिक सीप र प्रविधिको अभावमा सिलाजित खेर गइरहेको बाबियाचौरका फडिण्द्रप्रसाद रिजालले बताउनुभयो । करिब तीन दशकदेखि स्थानीय जडीबुटीको प्रसोधन गरी आयुर्वेदिक औषधि बनाउँदै आएका रिजाल पहराबाट सिलाजित निकाल्दा निकै जोखिम मोल्नुपर्ने भएकाले आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनुहुन्छ । बजारमा प्रति दस ग्राम सिलाजित रु.२५ देखि रु.३० सम्ममा बिक्री हुन्छ । गत वर्षचार क्विन्टल सिलाजित निर्यात भएको जिल्ला वन कार्यालयले जनाएको छ । प्रतिकिलोग्राम सिलाजितबाट रु.५० राजस्व सङ्कलन हुने गरेको छ । जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ताहरू यसतर्फआकषिर्त हुन नसकेको कार्यालयले जनाएको छ । जिल्ला वन अधिकृत विजयराज सुवेदीका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र बहुमूल्य सिलाजित निर्यात हुने गरेको छ ।






