Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

हर्रो

बैञानिक नाम :   Terminalia chebula Retz.
नेपाली  नाम: हर्रो
संस्कृत  नाम:   हरिताकी
अंग्रेजी  नाम:    Chebulic myrobolon
वनस्पति परिवार: Combretaccac

१. परिचयः
यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसका पातहरु ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन् । पातको भेट्नुमा एक जोडी ग्रन्थीहरु (Glands) हुन्छन् । यसका फूलहरु साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन् । फूलहरुको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन् । फलहरु ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन् । तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरु स्पष्ट देखिन्छन् ।

२. फैलावटः
यो भारत, श्रीलंका तथा म्यानमारमा पाइन्छ । १५०–११०० मि. सम्मको उचाई भएको मध्य तथा पश्चिमी नेपालमा यो फैलिएको छ ।

३. उपयोगः
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो । फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गीजाबाट रगत आउने र गीजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।

मुख्यतःयसका फलहरु टाँनिन (Tanin) निकाल्नको लागि उपयोग गरिन्छ । जरा, बोक्रा, तथा काठमा समेत टेनिन पाइन्छ । टेनिन छाला उद्योगहरुमा छाला नरम पार्ने कार्य , वस्तुलाई धेरै समयसम्म खप्ने बनाउन र रंगलाई चम्किलो बनाउन उपयोग गरिन्छ । यसैगरि यस फलको गुदीदार भिजाएको वासी पानीले आँखा सफा गर्न प्रयोग गरिन्छ ।

४. खेती विधिः
विभिन्न कारणहरुले गर्दा प्राकृतिक अवस्थामा यसको पुनरुत्पादन राम्ररी हुन सकेको देखिएको छैन , त्यसकारण यसको खेती महत्वपुर्ण मानिएको छ । निम्न विधि अनुसार यसको खेती गर्न सकिन्छ ।

५. वेर्ना तयार गर्ने तरिकाः

(क) वीउ संकलनः यसका फलहरु मंसिर देखि चैत्रसम्म पाक्दछन् । फलहरु पाकेपछि हल्का पहेंला रंगका हुन्छन् र पाकेका फलहरु भूँइमा झर्दछन् र यसरी झरेका फलहरु तुरुन्तै टिप्नु पर्दछ नत्र भने फलहरु लोखर्के, मुसा तथा कीराहरुले खाई दिन्छन् । टिपेका फलहरुको गुदीदार भाग हटाउनु पर्दछ । गुदीदार भाग हटाउनको लागि टिपिएका फलहरुलाई एकै ठाउँमा थुपार्नुपर्दछ । केहि दिन पछि गुदी कुहिन्छ र वीउहरु निस्कन्छन् ।यसरी गुदीदार भाग हटाइएका वीउहरु केही दिन राम्ररी सुकाएर राख्नुपर्दछ ।

(ख) नर्सरीः वीउहरु माटो र वालुवा मिसाई बनाई राखेको नर्सरी व्याडमा रोपेर वा त्यस्तै किसिमका वालुवा र माटोको मिश्रणले भरिएका पोलीव्यागमा सोझै रोपेर पनि नर्सरीमा विरुवा उमार्न सकिन्छ । विउको बाहिरी आवरण कडा हुने भएकोले उम्रन गाहृो हुन्छ । तसर्थ वीउ रोप्नु भन्दा पहिले वीउलाई २४ घण्टा जति पानीमा ढड्याउने वा वीउको वाहिरी कडा आवरणको टुप्पो पट्टिको भागलाई घाउ बनाई पानीमा ढड्याउनु पर्दछ ।

यसरी रोपिएका वीउहरु २ हप्ता देखि उम्रन थाल्दछन् र करिब एक महिनासम्म उम्रदै गर्दछन् ।यसका वीउहरुको उमार शक्ति ८० % जति हुन्छ । यदि नर्सरी व्याडमा विरुवा छन् भने पोलीव्यागमा सार्नु पर्दछ र एक वर्षसम्म हेरचाह गर्नु पर्दछ ।

(ग) कलमीः  एक वर्ष पुराना करीब औँला जति मोटाई भएका हाँगाहरुका कलमीबाट पनि वेर्ना तयार गरिन्छन् । यसरी तयार गरिएका विरुवाले छिटै फल दिन्छन् । माघ/फागुन महिनातिर तीनवटा जति आँख्ला रहने गरी एक वर्ष पुराना  हाँगाहरु काटेर माटो र वालुवाको मिश्रणले तयार गरिएको नर्सरी व्याडमा गाड्नु पर्दछ। यसरी गाडिएका कलमीहरुले करिब एक महिना देखि जरा दिन शुरु गर्दछन् । जरा आईसकेपछि असार/श्रावणतिर फेरी पोली व्यागमा सारी एकवर्ष सम्म हेरचाह गर्नु पर्दछ ।

(घ)  ग्राफ्टिङ्गः छिटै र राम्रा जातका फल फलाउन हाल ग्राफ्टिङ्ग तरिका अपनाईन्छ । बडिङ्ग विधि अपनाएर हर्रोको ७५% ग्राफ्टिङ्ग सफल भएको हालका केहि प्रयोगहरुले देखाएका छन् ।

(ङ) फिल्डमा सार्नेः फागुन /चैत्रतिर उमारिएका वेर्नाहरु अर्को वर्षको असार/श्रावणमा मात्र फिल्डमा सार्न योग्य हुन्छन् । ५ मि. फरकमा राम्ररी खाल्डो तयार गरी लगाएको खण्डमा विरुवाहरु राम्ररी हुर्कन सक्छन् । पहिलो वर्ष राम्ररी गोडमेल ,मलजल र स्याहार संभार गर्नुपर्दछ । यो विस्तारै बढ्ने खालको बोट हो ।

६. बाली संकलनः
हर्रोको फलको उत्पादन लिन करीब १० वर्ष लाग्दछ । १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखबाट प्रतिरुख ४०–६० के. जी. सम्म उत्पादन हुने गर्दछ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

जडिबुटी परिचय

जडिबुटी परिचय, पाइने स्थान, तिनीहरुका गुण, कर्म, औषधीय महत्व, मात्र आदि

जडिबुटीको  प्रयोग 

जडिबुटीको  संकलन, संरक्षण र औषधि बनाउने तरिका

किटनासक जडिबुटी

परिचय, प्रयोग गर्ने तरिका, असर पर्ने किराहरु 

जडिबुटीबाट बनेका औषधिहरु

औषधिहरुको परिचय, तिनीहरुका घटक, प्रयोग र मात्रा

जडिबुटी खेती

जडिबुटीको खेती बिधि, बिरुवा तयार गर्ने तरिका, फिल्डमा सार्ने,  काँटछाँट र संकलन गर्ने तरिका

जडिबुटी र रोग

जडिबुटी, तिनीहरुको प्रयोग गर्न सकिने रोगहरु को जानकारी

जडिबुटी पसल

जडिबुटी किन्ने ठाउँ, किन्ने तरिका, मूल्य आदि को जानकारी

जडिबुटीको घरेलु प्रयोग

साधारण रोगहरुको घरमा नै जडिबुटीद्वरा उपचार गर्ने तरिका को जानकारी


Online Consultation

Ayurveda Videos


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता