बैज्ञानिक नाम ( ल्याटिन नाम) : लाइकोपोडियम क्लाभाटम ( Lycopodium clavatum Linn)
वनस्पति परिवारः लाइकोपोडियसी (Lycopodiaceae)
१. परिचय
नागबेली विरुवा नेपाल अधिराज्यका समुद्री सतहबाट १,८०० मी. देखि ३,६०० मी. उचाईका स्थानहरुमा पाइन्छ । यो एक लहरे झार हो । खुल्ला चौर वा मैदानमा फैलिएर रहेको हुन्छ । यसलाई बेली लहरो पनि भन्दछन् । यो लहरो विरुवा वनस्पति जगतको फूल नफुल्ने जातमा वर्गीकरण गरिएको छ । पात सानो र २ देखि १० मि. मि. लामो हुन्छ । पातहरु घुमाउरो प्रकारले मिलेर डाँठ र हाँगाहरुलाई झ्याम्मै ढाकेका हुन्छन् । जमीनमा फैलिएर रहेको डाँठबाट ५ देखि १० से.मी. लामो र ठाडो हाँगा निस्केका हुन्छन् । हरेक हाँगामा बीजाणु फल्ने ३ देखि ५ कोसा सम्म फल्दछ । कोसा छिप्पिए पछि यसभित्र रहेका नौनी रंगको मसिनो धुलो निस्कन्छ । यही धुलोलाई नागबेलीको धुलो भनिन्छ । यो धुलो चिप्लो , स्वाद र गन्धविहिन हुन्छ । हातले छुंदा टासिन्छ । यो चिसो पानीमा उत्रन्छ र आगोमा हाल्दा उज्यालो ज्वाला सहित झिलिक्क बल्दछ । यसलाई सुक्ष्मदर्शक यन्त्रले हेर्दा यसमा असंख्य अति साना बीजाणुहरु देखिन्छन् । बीजाणु २४ देखि ४० मिलिमाइक्रोन व्यासको हुन्छ । प्रत्येक बीजाणु स्तुपाकार , कोप्रो फेद भएको र बाहिरी भाग पाँच कुने आवरणले ढाकेको हुन्छ । विजाणु फोरेमा पहेंलो रंगको तेल निस्कन्छ । एक ग्राम तौलमा ९४,००० बीजाणुहरु हुन्छन् ।
२. खेती
खेतीको लागि यसलाई नतिशितोष्ण जलवायुको आवश्यकता पर्दछ । यस विरुवाको खेती यसका बीजाणुबाट गरिन्छ । बीजाणु अति सानो भएकोले सर्वप्रथम नर्सरी बेडमा यसको बोट तयार गरिन्छ । बीजाणु माटोको ३ देखि १० सेन्टीमिटर तल गाडिन्छ । अंकुरण पछि विरुवाले १ देखि ३ सेन्टिमिटर लामो गाजरको जस्तो आकार लिन्छ र यसमा भाले र पोथी दुवै योनीको विकास हुन्छ । भाले र पोथी योनीको संसर्ग पछि भ्रुण उत्पत्ति हुन्छ । यही भुरण पछि विस्तारै विरुवामा परिणत हुन्छ । यो विरुवालाई मलजल गरी तयार गरिएको खेतमा सारिन्छ । ५ देखि १५ वर्ष पछि विरुवा परिपक्व हुन्छ र धेरै वर्षसम्म बाँच्दछ । काण्ड र हाँगाको कक्षबाट कोपिला फुल्दछ । यो कोपिला भुईमा खसेर अंकुरण भई नयाँ विरुवा तयार हुन्छ ।
नेपालको निम्न लिखित जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ।
ईलाम, ताप्लेजुङ्ग , धनकुटा , तेहृथुम , संखुवासभा , भोजपुर , लमजुङ्ग , कास्की , पाल्पा , मुस्ताङ्ग , काठमाडौं , मकवानपुर , भद्रपुर , ललितपुर , दोलखा , रसुवा , धादिङ्ग , नुवाकोट आदि ।
३. संकलन
जेष्ठदेखि श्रावणसम्ममा नागबेलीको कोसा लाग्न शुरु गर्दछ र माघ फाल्गुन तिर संकलन गरिन्छ ।
४. सुकाउने तथा संरक्षण
संकलन गरिएको कोसालाई घाममा सुकाइन्छ । राम्ररी सुकिसकेपछि जतनसंग कोसाबाट धुलो झारिन्छ । पात , डाँठ र हाँगाहरुको टुक्रा टुक्रा चाल्नीले छानेर अलग्याईन्छ । नागबेलीको धुलोलाई प्लाष्टिकको व्यागमा हाली राम्ररी मुख बन्द गरेर आगोबाट टाढा राख्नुपर्छ ।
५. उपयोगिता
आयुर्वेदिय पद्धतिअनुसार नागबेलीको झार मृगौला र फोक्सोको रोगहरुमा प्रयोग गरिन्छ । अजिर्ण लगायत पेट सम्बन्धि साधारण रोग , रक्त ििवकार र सन्निपातमा पनि यसको उपयोग गरिन्छ । यसको धुलोलाई खासगरि आतिसबाजी र पटाकाहरु बनाउनमा पनि प्रयोग गरिन्छ ।
Send Business Enquiry Now»




