बैज्ञानिक नाम ( ल्याटिन नाम ) : डाएस्कोरिया डेलट्वाइडिया (Dioscorea deltoidea Wall.)
संस्कृत नाम : बहाहकन्द
अन्य नाम : नेपालीमा “गुने माउरो” , “कुकुर तरुल”
वनस्पति परिवार : डाएस्कोरियसी (Dioscoreaceae)
१. परिचय
नेपालको महाभारत तथा निम्न हिम श्रृंखलाको ९०० देखि ३,००० मिटरसम्म उचाईमा चिसो , ओसिलो र पतकर कुहेर मल भएको , अक्सर गरेर ढुङ्गै ,ढुङ्गा भएको भिरालो जग्गामा साल , सल्ला , लालीगुँराँस , कटुस , फलाँस इत्यादिको जंगलमा यो प्रशस्त मात्रामा पाईन्छ ।
वसन्त ऋतु शुरु भएपछि भ्याकुरको झिनो , चिल्लो लहरा जमिन मुनि रहेको अदुवाको आकार जस्तो गानोबाट पल्हाई आउँछ । गानो साहृो , कडा , मोटो ( मोटाई ६ मिलिमिटर देखि २ से.मी. ) र जमिन भित्र समकोण बनेको हुन्छ । गानाको बाहिरी भाग खैरो रंगको हुन्छ । यसको भित्री भाग (भाँच्दा) पँहेलो वा सेतो तथा सुन्तला रंगको हुन्छ । अरु रंगको भन्दा सेतो रंगको गानोलाई उच्च गुणस्तरको ठहराईएको छ । गानोबाट निस्केका जराहरु बँदेलका रौँ जस्ता दहृो , लामा तथा झिना हुन्छन् । लहराका हरेक आँख्ला मा एक एक पात हुन्छन् । पात २ देखि १४ से. मी. लामो र १ देखि ५ से. मी. चौडा , अण्डाकार , भालाकार तथा मुटु आकार भै टुप्पो तिखो र लामो भएको हुन्छ ।
एक आँख्लाबाट फूलहरु एउटा झुप्पा बनि निस्केको हुन्छ । फूलको रंग सेतो हुन्छ । एकै विरुवामा भाले तथा पोथी दुवै फूल पाईँदैन ।
२. खेती
भ्याकुरको खेती अक्सर ६० देखि ७० ग्राम तौल भएको काटिएको गानोबाट गरिन्छ । कोपिलाहरु आएको गानोलाई बसन्त ऋतुमा ड्याङ्गमा लगेर सारिन्छ ।यसको बीजबाट पनि विरुवा उमारी खेती गरिन्छ । विरुवाहरुलाई सार्नु अघि खेतलाई खनजोत गरि गाई गोरुको मल (१,००० के. जी. प्रति रोपनी ) हाल्नु पर्दछ । त्यसपछि ड्याङ्गमा ६० से.मि.को फरकमा रोप्नु पर्दछ । गानोबाट लहराहरु पल्हाई आएपछि तिनलाई थाँक्रो दिनु अत्यन्त जरुरी छ । थाँक्रो दिन नर्कट , बाँसका चिरा , निगालो र अन्य काठका घोचाहरु काममा लगाउन सकिन्छ ।
नयाँ डाँठको कलमीबाट पनि विरुवा उमारिन्छ।
नेपालको निम्न लिखित जिल्लाहरुमा यसको खेती गर्न सकिन्छः काठमाडौं , ललितपुर , भक्तपुर , काभेपलान्चोक , नुवाकोट , रसुवा , सिन्धुपाल्चोक , मकवानपुर , गोर्खा , पाल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि ।
३. संकलन
हरेक दोश्रो तथा चौथो वर्षमा कार्तिक देखि माघसम्ममा खनेर गानो झिकिन्छ । जंगलबाट संकलन गरिंदा एक पटक संकलन गरिसकेको क्षेत्रभित्र कम्तिमा २ वर्ष सम्म फेरि संकलन गर्नु हुंदैन , कारण पछि फेरि आँफै पल्हाएर आवोस् भनि संकलन गर्दा यसको गानोको केही भाग जमिन भित्रै छोड्नु अति जरुरी छ ।
४. सुकाउने तथा संरक्षण
संकलन गरिएको गानोहरुमा टाँसिएको माटो हटाउन पानीमा पखालिन्छ । पछि टुक्रा टुक्रा गरी काटिन्छ र त्यसलाई घाम वा छहारीमा राम्ररी सुकाईन्छ । राम्ररी सुकिसकेका गानाका टुक्राहरुलाई बोरामा राम्ररी बाँधी ओभानो ठाउँमा राख्नु पर्दछ ।
५. उपयोगिता
यो जुम्रा मार्न र माछा मार्ने विषको रुपमा प्रयोग गरिन्छ । यसको प्रशोधन गरि प्राप्त हुने डायोस्जेनिनबाट स्टेरोयेड हरमोन्स गर्भ निरोधक चक्कि (औषधी) पनि निर्माण गरिन्छ । घाउ , खटिरा र तागतको औषधीमा पनि यो प्रयोग गरिन्छ । यसलाई पोलेर खाने पनि गर्दछन् ।
Send Business Enquiry Now»




