बैज्ञानिक नाम (ल्याटिन नाम) : रुहेम इमोडी (Rheum australe D.Don)
संस्कृत नाम : रेवाचिनी , अम्लसार , बेतसाम्ल , फलाम्ले , गन्धिनी
अन्य नाम : नेपालीमा “शंखत्र”
वनस्पति परिवार : पोलिगोनेसी ( Poylgonaceae)
१. परिचय
नेपालको ३,००० देखि ४,००० मि. सम्मको उचाईमा हिमाली भेगको फिरफिरे , ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउ छाउमा , थुम्कामा , खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाईन्छ । यो १ देखि २ मि. सम्म अग्लो हुन्छ । यसको जरा र जमिन मुनि रहने काण्ड कसिएको गठिलो हुन्छ । बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वास पनि आउँछ । स्वाद भने पिरो , टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पल्हाई आएका लामा डाठ भएका यसका पातहरु ३० से.मि. चौडा हुन्छन् ।
विरुवाका माथिल्लो भागमा तल्ला पातहरुको दाँजोमा साना हुन्छन् । यसको फूलहरु साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।
२.खेती
यसको विरुवा काण्डका टुक्राहरुबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरुलाई वसन्त ऋतुमा सारिन्छ । १.५ मी. दुरीमा रहेको खाल्टोमा बेस्सरी मल जल गरेपछि मात्र यो विरुवा सार्ने कार्य हुन्छ । नेपालमा निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः
दोलखा , गोरखा , लमजुङ्ग , म्याग्दी , रुकुम , पर्वत , कालिकोट , दैलेख , जाजरकोट आदि ।
३. संकलन
यसको जरा र जमीनमुनि रहने डाँठ शरद् ऋतुमा काटेर झिकिन्छ । ३ देखि १० वर्षका विरुवाहरुबाट यसको काण्ड आश्विन महिनातिर खनेर झिकिन्छ । यी लामा , मोटा जरा र काण्डलाई धोई सफा गरिन्छ । पातका लामा डाँठहरु पनि संकलन गरिन्छ ।
४. सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डलाई स–साना गरी टुक्र्याइन्छ । ती टुक्राहरुलाई घाममा राम्रोसँग सुकाउनु पर्दछ । केही केही टुक्राहरुको बीचमा प्वाल पारी त्यसभित्र डोरी छिराई छहारीमा दुईवटा खम्बा वा रुखमा बाँधी सुकाउने पनि गरिन्छ । सुकिसकेका जडीबुटीहरुलाई टुक्रयाई बोरामा पोको पारी सुख्खा ठाउँमा राखिन्छ । पातका लामा डाठँहरु छहारीमा सुकाई चुल्ठी पारेर ओवानो ठाउँमा सुकाइन्छ ।
५. उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको काण्ड र जरा जुलाफ , कब्जियत , तागत दिने र पखाला लाग्ने इत्यादिको औषधीमा प्रयोग गरिन्छ । सुन्निएको , मर्केको , भाँचिएको ठाउँमा पद्म चालको गाना कुटेर गाईको गउँतमा मिसाई लगाउनाले फाईदा गर्दछ ।
यसलाई शक्तिवर्धक पाचक , वायुशमन गर्ने इत्यादि औषधीमा पनि व्यवहार गरिन्छ । यीनका हरिया र सुकेका डाँठ , पात र फूल पनि अचार तथा तरकारीमा प्रयोग गरिन्छ ।
Send Business Enquiry Now»




