बैज्ञानिक नाम : Taxus wallichiana Zucc.
नेपाली नाम : लोठसल्ला , तालीसपत्र , ठिन्ग्रे सल्ला , थुनेर , काँडे लोठो
संस्कृत नाम : मधुपर्नी , तालिस
अंग्रेजी नाम : Himaiayan yew
वानस्पतिक परिवार : Taxaceae
परिचयः
लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने, फैलिएको हाँगा विँगा भएको सदावहार कोणधारी वृक्ष हो। यसको पात मसिनो , लाम्चो , चेप्टो र वीचमा एउटा नशा भएको , २–३.५ से. मी. लामो र ३ मी . मी चौडा भएका हुन्छन् । यसका पातहरु हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन् । पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ । यसका भाले फूलहरु घीउ रंगका, गोला , साना , डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन् । यसको फल अलग्गै हुन्छ । फल काँचोमा हरिया र पाके पछि राता हुन्छन् । बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउलाई आधा भन्दा बढी भाग छोपेको हुन्छ ।
प्राकृतिक वासस्थानः
यो काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ र नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००–३००० मीटर उचाई सम्मका जंगलहरुमा फैलिएको पाईन्छ । खासगरि गोब्रे सल्लो सँग मिसिएर हुर्केको भेटिन्छ ।
उपयोगः
विगत दुई दशक देखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ । खासगरि छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तिव्र गतिमा हुन थाल्यो , जसको फलस्वरुप यसको अत्याधिक संकलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्ध समेत लगाउने अवस्था पुग्यो । हाल यसको संकलन गर्न वातावरणी प्रभाव अध्ययन गरेर मात्र ईजाजत दिने गरिन्छ । संकलन पश्चात् प्रशोधन नगरी विदेश निकासी गर्न समेत प्रतिबन्ध लगाइएको छ । यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (taxol) नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्याउने रसायनिक तत्व हो ।
खेती विधिः
हाल यसको बढी उपयोग हुनाका कारण यसको संकलनमा व्यापकता आएकाले खेती गर्नुपर्ने आवश्यकता महशुस भएको छ । तैपनि व्यवसायिक रुपमा यसको खेतीको शुरुवात भैसकेको छैन ।
विरुवा तयार गर्ने तरिकाः
हुन त यसको बिउबाट पनि वेर्नाहरु तयार गर्न सकिन्छ ता पनि बिउ उम्रन निकै समय र श्रम लाग्ने भएकालै यसको विरुवाहरु कटिङ्गबाटै उत्पादन गर्ने गरिन्छ ।
यसको एक वर्ष वा सोभन्दा पुराना हाँगाहरुबाट कटिङ्ग राख्ने गरिन्छ । धेरै मोटा हाँगा भएमा पनि त्यति राम्रो जरा आउदैन , त्यसकारण १ देखि ३ वर्ष पूराना हाँगाहरुबाट कटिङ्ग राख्नु उपयुक्त हुन्छ । हिँउदे याममा विरुवा पलाउनू भन्दा अघि वा वर्षा याममा कटिङ्ग राख्न सकिन्छ । खासगरि माटोमा भन्दा वालुवामा राम्ररी जरा दिइएको पाइएको छ । करीब १५ से. मी . लामा हाँगाहरुलाई फेद र टुप्पोतिर छड्के पारेर काटी पानीमा डुवाई राख्ने र वालुवा बढी भएको व्याडमा ४५० को कोण गरी छड्के पारेर गाडिन्छ । सकभर छायाँ दिनु पर्छ । हिँउदे यामको कटिङ्गबाट अलि ढिलो जरा आउँछ भने वर्षे यामको कटिङ्गबाट ३÷४ हप्ता भित्रमा जरा निस्कन शुरु गर्दछ । जरा आइसकेका कलमीहरुलाई पोलीव्यागमा सारेर छायाँमा राख्ने गरिन्छ । यसरी उत्पादित वेर्नाहरु १ वर्षसम्म नर्सरी मै राखिन्छन् र अर्को वर्षा याममा जमीनमा सार्ने गरिन्छ ।
फिल्डमा सार्नैः यसरी उत्पादित वेर्नाहरुलाई फिल्डमा सार्नको लागि फिल्डको तयारी गर्नुपर्दछ । यसलाई चिया वगानको जस्तो झाडीको रुपमा विकास गरेर खेती गर्न सकिने कुरा ज्ञात भएको छ । पहिला जमीनलाई खनजोत गरी राम्रोसँग मल राखेर जमीनको तयारी गर्नु पर्दछ । विरुवा लगाउँदा विरुवादेखि विरुवाको फरक एक /एक् मीटरको र लहर देखि लहरको फरक १.५ मीटर गरेर लगाउँदा विरुवा राम्ररी फस्टाउँछ ।
काँटछाँटः
विरुवाहरु एक वर्षका भएपछि यिनीहरुलाई काँटछाँट गनृु पर्दछ । यसो गर्दा विरुवामा धेरै हाँगा निस्कन्छन् । यसरी प्रत्येक वर्ष छाँट्दै जाँदा करीब ४ वर्ष पछि विरुवाहरुबाट पातहरु /डाँठहरुको उत्पादन लिन सकिन्छ । प्रत्येक वर्ष गाइवस्तुको मल थप्दै जाँदा विरुवाहरु राम्ररी हुर्कन्छन् ।
बाली संकलनः
हालसम्म व्यवसायिक खेतीको प्रचलन नभइसकेकोले वार्षिक उत्पादनको आँकडा उपलब्ध छैन । चिया वगानको रुपमा विकास गरी वर्षको दुई पटक हाँगाहरु काँट छाँट गरी बाली भित्र्याउन सकिन्छ ।
Send Business Enquiry Now»




