एकजना आठौँ तहका डाक्टर, दुईजना वैद्य, दुईजना कविराज, दुईजना पियन र एकजना लेखापालको दरबन्दी रहेको उक्त अस्पतालमा एक पियन मात्र दैनिक आउने गरेका छन् । स्थानीय बासिन्दाका अनुसार एक वर्ष पहिलेसम्म सेवाग्राहीको भीड लाग्ने गरेको थियो, तर अहिले सुनसान छ । चन्द्रनिगाहपुरको मोथियाहीमा रहेको अस्पतालको आप
नै भवन मर्मत-सम्भारको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीय बासिन्दा तीर्थ चौधरीले बताए । अस्पतालका प्रमुख डाक्टर सन्तोष ठाकुर एक वर्ष पहिला तालिमका लागि भारत गएको र आउनासाथ उनी सिंहदरबार वैद्यखानाको प्रमुख बनेर सरुवा भई गएपछि अस्पतालको अवस्था नाजुक बनेको हो । उक्त अस्पतालको मातहतमा जिल्लामा दुईवटा आयुर्वेद स्वास्थ्यकेन्द्र रहेका छन् । ती केन्द्रमा समेत औषधि छैन । अस्पतालमा भेटिएका पियन कृष्ण चौधरीले नयाँ पत्रिकासँग भने, 'वैद्य -विमलेश झा) कहिलेकाहीँ आउँछन्, प्रायः म मात्रै आउँछु, ढोका खोल्छु र बन्द गरेर जान्छु ।' चौधरी स्थानीय बासिन्दा भएकाले उनी सधैँ अस्पताल आउने गरेका हुन् ।
अर्का वैद्य चन्द्रदेव यादव तलब बुझ्ने वेलामा सही गर्न मात्र आउने गरेको चौधरीले बताए । कविराज रामप्रवेश साह, अर्का एक कविराज र पियन रामनारायण यादव अस्पताल आउँदैनन् । सिंहदरबार वैद्यखानाबाट निःशुल्क पाइने औषधि पनि माग्ने मान्छे नभएका कारण लामो समयदेखि नआएको पियन चौधरीले बताए । कुनै समय प्राथमिक स्वास्थ्यकेन्द्र चन्द्रनिगाहपुरको तुलनामा सेवाग्राहीको चाप रहने आयुर्वेद अस्पताल सुनसान रहनुमा सम्बन्धित निकायको लापरबाही रहेको अर्का स्थानीय बासिन्दा नरेश लामिछानेको भनाइ छ । दुईतले अस्पतालको भवनको चारैतिर लगाइएको पर्खालसमेत भत्कन थालेको छ । सो अस्पतालमा कार्यरत कर्मचारीहरूले घरमै बसेर मासिक तलब-भत्ता बुझ्छन्् ।




