बैज्ञानिक नामः बर्बेरिस एरिष्टाटा ( Berberis aristata DC.)
संस्कृत नामः दारुहल्दी
नेवारी नामः “मरप्यासी”
वनस्पति परिवारः बरबेरिडेसी (Berberidaceae)
१. परिचय
चुत्रोको बोट नेपालको महाभारत पर्वत श्रृङ्खलामा समुद्री सतहभन्दा १,९०० मी. देखि ३,००० मी. उचाइका खुल्ला पाखोमा पाइन्छ । यो १.८२ देखि ५.४ मी. अग्लो हुने सदावहार काँडेदार झाङ्ग हो । यसको हरेक आँख्लाबाट फराकिलो भालाकृत , अण्डाकृत र माथितिर फराकिलो तल साँगुरिदै जाने पातहरु निस्केका हुन्छन् । कुनै कुनै पातहरु काँडामा परिणत भएको हुन्छ । पात साधारण ३ देखि ४ मिलिमिटर लामा , डाँठ भएको वा डाँठ नभएको , पातका किनारा करौंती जस्तै ेचिरिएको र किनारामा स–साना तीखो झुस लागेको हुन्छ । पातको नाप १.५ से.मी. देखि २.३ से.मी. चौडा र २ देखि ५.५ से.मी. लामो हुन्छ । फूलहरु पहेंलो र झुप्पा झुप्पामा फुलेको पाइन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै योनि पाईन्छन् ।
२. खेती
चुत्रोको खेतीको लागि कुहिएको उद्भिज पदार्थ र वालुवा मिसिएको मलिलो माटोको आवश्यकता पर्दछ । यो विरुवालाई बीउबाट अंकुरण गराइन्छ । सबभन्दा पहिले बीउ फलबाट अलग्याइन्छ र मलजल गरी तयार गरिएको ड्याँगमा वा नर्सरी बेडमा लगाइन्छ । एक वर्षमा विरुवा तयार हुन्छ । बीस वर्षमा विरुवा ४ मी. को झाङ्ग बन्दछ । आषाढ , श्रावणतिर विरुवाको हाँगा काटी गाड्नाले पनि नयाँ विरुवा तयार हुन्छ ।
नागबेली र चिराइतो खेती गर्न सकिने जिल्लाका स्थानहरुमा चुत्रोको पनि खेती गर्न सकिन्छ ।
३. संकलन
बोक्रा वर्षात ऋतुमा संकलन गरिन्छ र जरा शरद् ऋतुमा जमीनमुनिबाट खनेर झिकिन्छ ।
४. सुकाउने तथा संरक्षण
संकलन गरिएको बोक्रा र जरालाई स–साना गरी टुक्राइन्छ । ती टुक्राहरुलाई घाममा राम्ररी सुकाउनु पर्दछ । सुकेको बोक्रालाई बोरामा बन्द गरी ओभानो गोदाममा थन्काइन्छ ।
५. उपयोगिता
आयुर्वेदिय पद्धति अनुसार यसको जरा र बोक्रा पाकेको घाउ , खटिरा , श्वेत प्रदर , आँखाको रोग , कमलपित्त र ज्वरो शान्त गर्नमा प्रयोग गरिन्छ । पानीमा बाक्लो गरी पकाएको झोल रसोत वा रसान्जनको नामले प्रख्यात छ ।
Send Business Enquiry Now»




