बैज्ञानिक नामः एकोरस क्यालामस (Acorus calamus Linn)
संस्कृत नामः बचा , उग्रगन्धा , गोलोमी , जटिला , उग्रा
नेवारी नामः सःपी
वनस्पति परिवार एरेसी (Araceae)
१. परिचय
बोझो नेपालका हिमाली भेकका नदी , खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मी. उचाईसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ । यो विरुवा जमीनमुनि रहेको काण्डबाट पल्हाई आउँछ । काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ । यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०.६ देखि २.० से.मी को मोटाई भएको हुन्छ । यो काण्डलाई सजिलैसंग टुक्रा गर्न सकिन्छ । यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ । काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । यसको वासना सुगन्धित र स्वाद अलि परपराउने , पीरो र तीतो हुन्छ ।
पात जमिन मुनि रहेको काण्डबाट पल्हाई आएको हुन्छ । पात ५ देखि ४० से.मी. लामो र १ देखि ३ से. मी . चौडा भै टुप्पो तीखो भएको हुन्छ ।
२. खेती
बोझोको खेती यसको काण्डबाट गरिन्छ । नतिशितोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त मल , घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ । टुसा निस्केको भागहरुलाई कोपिला रहने गरी टुक्रा टुक्रा पारी मसिनो वालुवा मिसिएको माटोमा हरेक टुक्रामा रहेको टुसा वा कोपिला माटो बाहिर निस्कने गरी ०.३ मी. फरकमा गाडिन्छ । यो विरुवाको लागि हरियो मल उपयोग गरिन्छ । माटोलाई काफी सिंचाई दिई नरम बनाईएको हुनु पर्दछ ।
३. संकलन
यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ । हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ । संकलन गर्दा जमिनभित्र काण्डको केही भाग छोड्नु पर्दछ । यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ । प्रत्येक एक एकड जमिनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ ।
४. सुकाउने तथा संरक्षँण
यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ । राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ । सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ ।
५. उपयोगिता
आयुर्वेदिय पद्धतिअनुसार यस जडीबुटीको काण्ड ग्रन्थी , बाथ , ज्वरो , शुल , कफदोष इत्यादिमा प्रयोग गरिन्छ । यसले भोग जगाउँछ , कण्ठ रोगलाई हित गर्दछ ।
Send Business Enquiry Now»




