Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

बर्रो

बैज्ञानिक नाम :   Terminalia bellirica ( Gaertn.) Roxb.
नेपाली नाम :   बर्रो
संस्कृत नाम :    तेलाफल
अंग्रेजी नाम :    Belleric myrobolon
वनस्पति परिवार :    Combretaccae

१. परिचय
यो २०–३० मि. सम्म अग्लो हुने ठुलो पतझर रुख हो । यसका पातहरु ठूला, १०–२५ से.मी. लामा, ७–१५ से.मी. सम्म चौडा र अण्डाकार हुन्छन् । पातहरु  खासगरि हाँगाका टुप्पामा झुप्पा परेर रहेका हुन्छन् । यसका फूलहरु हाँगाका टुप्पामा पातहरुको बीच बीचमा लामा लामा डाँठको वरीपरी फेद देखि टुप्पासम्म मिलेर रहेका हुन्छन् । फूलहरु साना, हल्का पहेँला रंगका र नमीठो गन्ध आउने हुन्छन् । फूलहरु बैशाख / जेष्ठ सम्म फुल्दछन् । फलहरु करीब २.५ से. मी. लामा अण्डाकारका र खैरा मसिना रौँहरुले ढाकिएका हुन्छन् ।

२. वासस्थान (फैलावट)
वर्रोका रुखहरु ११०० मि. सम्मको उचाईमा तराई तथा भित्री मधेसका जंगलहरुमा पाइन्छन् । धेरै सुख्खा ठाउँमा भन्दा चिस्यान भएको ठाउँतिर यो राम्ररी हुर्कन्छ ।

३. उपयोग
आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो । फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फलको गुदीदार भाग दाँत बलियो बनाउन एवं गीजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ । त्यसैगरि फल दम, खोकीमा पनि प्रयोग गरिन्छ भने भिजाएको बासी पानीले धोएर आँखा सफा गर्ने पनि गरिन्छ । यसको रुखको बोक्रा टेनिन (Tannin) का लागि उपयोगमा ल्याइन्छ । टेनिन छाला उद्योगमा छाला प्रशोधन गर्नुका साथै धेरै सम्म खप्ने बनाउनका साथै रंगमा चमक ल्याउने काममा समेत प्रयोग गरिन्छ । वीउबाट निकालिएको तेल छालाको रोगमा पनि प्रयोग गरिन्छ ।

४. खेती विधि :
यो विरुवा जंगलमा प्रशस्त पाइने भएकोले खेती गर्ने त्यति चलन छैन । तैपनि विरुवाहरु तयार गर्न निम्न किसिमका विधिहरु अपनाइन्छ ।

(क)  वीउ संकलन तथा वेर्ना तयारी :
यसका फलहरु मंसिर देखि पाक्दछन् त्यसकारण मंसिर देखि फागुन महिना सम्ममा संकलन गर्न सकिन्छ । खासगरि यसका फलहरु बाँदरले खाने भएकाले पाक्ने वित्तिकै संकलन गर्नु उचित हुन्छ । संकलन गरेका फलका गुदीदार भाग हटाएर केही दिन राम्ररी सुकाएर भण्डार गर्नु पर्दछ । यसको वीउको उमार शक्ति १ वर्षसम्म रहन्छ ता पनि एक वर्षसम्म राखेमा उमार प्रतिशत एकदम कम हुन्छ ।

(ख) नर्सरी : संकलन गरेर सुरक्षित किसिमले भण्डार गरिएका वीउहरु फागुन / चैत्रतिर उमार्नको लागि नर्सरीमा राखिन्छ । वीउहरु सोझै पोली व्यागमा रोप्नु उपयुक्त मानिन्छ । माटो र वालुवा मिसाएर भरिएका पोली व्यागमा वीउहरु रोपिन्छन् । पानीको व्यवस्था राम्ररी गर्नु पर्दछ र यसरी रोपिएका विउहरु ३६–७० % उम्रने क्षमता राख्दछन् । वीउ रोप्नु भन्दा अघि वीउलाई २४ घण्टा पानीमा भिजाउनु पर्दछ ।

(ग) कलमी :
हाँगाको कलमीद्धारा पनि यसका वेर्नाहरु तयार गरिन्छ । माघ / फागुनतिर औँला जत्रा एक वर्ष पुराना हाँगाहरु करिब ६ इन्च जति लामा काटेर माटो र वालुवा मिसाएर तयार गरिएको नर्सरी व्याडमा गाडेर वेर्ना तयार गर्न सकिन्छ । यसरी तयार गरिएका विरुवाहरु वीउबाट तयार गरिएका विरुवा भन्दा छिट्टै फल दिन योग्य हुन्छन् । छिट्टै फलाउनुका लागि ग्राफ्टिङ्ग गरेर पनि वेर्ना उत्पादन गर्ने गरिन्छ । ल्केफ्ट ग्राफ्टिङ्ग तरिकाबाट करिब ३० % सफलतापूर्वक विरुवा उत्पादन भएको प्रयोगले देखाएको छ ।

(घ)फिल्डमा लगाउनेः
फागुन / चैत्रमा उमारिएका वेर्नाहरु आषाढ / श्रावण तिर फिल्डमा लगाउन योग्य हुन्छन् । ५ मिटरको दुरीमा राम्ररी खाडल खनी राम्रोसँग विरुवाहरु लगाइन्छ । यो अलि ढीलो गरी बढ्ने प्रजाति हो । यसलाई त्यति मल जलको आवश्यकता नभए पनि छिटो हुर्काउनका लागि गोडमेल, मलजल र पानी राख्दै गर्नु राम्रो हुन्छ ।

(ङ) वाली संकलनः
करीब ७ वर्ष पछि विरुवा फल दिन योग्य हुन्छ तापनि १० वर्ष पुराना रुखहरुबाट फल संकलन गर्दा राम्रो उत्पादन लिन सकिन्छ । १० वर्ष भन्दा बढीका रुखहरुबाट वार्षिक ५० के.जी. सम्म फल संकलन गर्न सकिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता