बैज्ञानिक नाम ( ल्याटिन नाम ) : अढाटोडा भासिका (Adhatoda vasika Nees)
संस्कृत नाम : वासक , सिंहमुखी , शितकर्णी
अन्य नाम : आलेड (नेवारी)
वनस्पति परिवार : आकान्थोसी (Acanthaceae)
परिचय
यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ । यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ । पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ । पातको टुप्पा चोसो परेको हुन्छ । पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन । फूलहरु एउटै डाँठमा गुच्चमुच्च हुन्छन् । फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ । पूर्ण रुपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ । फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ । अरु सामान्य फूलहरुमा झैं असुरोका फूलहरु पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ ।
विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो । यो तीतो हुन्छ ।
खेती
नेपालमा यसको खेती गर्ने चलन आइसकेको छैन । तर खेती गर्नु परेमा निम्न लिखित जिल्लाहरुमा खेती गर्न सकिन्छ । बाँके , डोटी , रुकुम , सुर्खेत , ललितपुर , काठमाडौं , स्याङ्गजा , पाल्पा , भक्तपुर , चितवन र इलाममा आदि ठाउँमा खेती गर्न सकिन्छ ।
संकलन
यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ ।
उपयोगिता
यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरुमा प्रयोग गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ ।
Send Business Enquiry Now»




