बैज्ञानिक नाम Phyllanthus emblica Linn.
नेपाली नाम अमला
संस्कृत नाम आमलकी, धात्री
अंग्रेजी नाम Emblic myrobolon
वनस्पति परिवार Euphorbiaceae
१ . परिचय
यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरु एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरु लाग्दछन् ।फूलहरु पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरु वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरु गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरु प्हिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरु देखिन्छन् । फलको गुदी भित्र बीउहरु पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरु हुन्छन् । आजकल उन्नत जातका अमलाहरु पनि पाइन्छन् ।यी फलहरु जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् ।
२. फैलावटः
अमला भारत , भुटान ,उत्तरी वर्मा ,दक्षिणी चीन ,इन्डोचीन ,मलेसिया लगायत नेपालमा १५०– १४०० मी. उचाई सम्मको स्थानहरुमा पाइन्छ । खुल्ला ठाउँ र प्रशस्त घाम लाग्ने ठाँउ यसका लागि उपयुक्त वातावरण मानिन्छ ।
३. उपयोगः
यसको फल भिटामिन सि’ को मुख्य स्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधी त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने ,सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरुमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरु आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरु कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रंगाउन पनि प्रयोग गरिन्छ ।
४.खेती विधिः
अलि गरम खालको ठाउँमा १०० मी. देखि १५०० मी. सम्मको उचाई भएको पारिलो तथा खुला ठाउँमा यो राम्ररी खेती गर्न सकिन्छ । सुख्खा ठाउँहरुमा प्राय सबै किसिमको माटोमा यसको खेती गर्न सकिन्छ तापनि बलौटे माटो यसको लागि उपयुक्त छैन र दोमट ढुंगा तथा चटान युक्त माटो राम्रो मानिन्छ ।
५.प्रसारण तरिकाः
(क) वीउबाटः प्राय यसको वेर्नाहरु वीउबाटै उत्पादन गर्ने गरिन्छ । ठाँउ हेरि असोज देखि फागुनसम्म यसका फलहरु पाक्दछन् । पाकेपछि फलहरु हल्का पहेला हुन्छन् । पाकेका फलहरु टिप्ने वित्तिकै बाहिरको गुदीलाई काटेर फ्याक्नुपर्छ । त्यस भित्रको कडा आवरण भित्र ४ देखि ६ वटा वीउहरु हुन्छन् । घाममा सुकाएपछि कडा आवरण आफैं फुटी वीउहरु बाहिर निस्कन्छन् । एक किलोग्राममा ३४०००– ८९००० सम्म वीउहरु हुन्छन् । यसका वीउहरुको उमार शक्ति एक वर्ष सम्म रहन्छन् । तापनि निकाल्ने वित्तिकै उमार्दा बढी प्रतिशत उम्रने गर्दछन् ।
तत्कालै छरेमा करीब ८ / ९ महिनासम्म वेर्नाहरु नर्सरीमा राखी असार श्रावणतिर फिल्डमा सार्नु पर्दछ । फागुन– चैत्रमा उमारेका वेर्नाहरु नर्सरीमा राखी असारमा सार्न सकिन्छ ।
(ख) बडीङ्बाटः वीउबाट उमारी लगाइएका रुखबाट ढीलो फल प्राप्त हुनुका साथै साना फल फल्ने हुँदा राम्रो जातको फल फल्ने रुखबाट कार्यालहरु सहितको हाँगा निम्न स्तरिय पातको विरुवाहरुको एक वर्ष पुरानो विरुवामा बडिङ्ग गरेर उच्चस्तरिय फल उमार्न सकिन्छ ।
(ग) हाँगाको कलमीबाटः हाँगाहरु कटेर पनि यसका वेर्नाहरु तयार गर्न सकिन्छ । यसको लागि एक वर्ष पुराना हाँगाहरु करीब ६ इन्च जति लामा दुवैतिर छड्के पारेर काटेर तयार गरीएको व्याडमा ४५ डिग्रीको कोण बनाएर गाडिन्छ। माघ – फागुन महिनामा यसरी काटेर गाडिएका कलमीहरुले कटीङ्ग दुई महिना पछि जरा दिन्छन् ।
६. बेर्ना लगाउनेः
५ / ५ मीटरको फरकमा १ मी. लामो १ मी. चौडा र १ मी. गहिरो खाल्डो खनी त्यसभित्र मल माटो मिसाई राखेर बनाइएको खाडलमा वर्षा याममा विरुवाहरु सारिन्छ ।
७. वाली संकलनः
यसको फल नै उपयोगी अंग हो । त्यसकारण यसका फलहरु संकलन गर्ने गरिन्छ । लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरु संकलन गर्ने गरिन्छ । करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरुबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ ।
८. प्रशोधनः
यसको फल संकलन गरी सकेपछि उम्लीरहेको पानीमा करीब १० मिनेट जति राखेमा फल कमलो भएर आउँछ र फलको बाहिरको गुदिलाई सजिलै निकाल्न सकिन्छ, त्यसपछि निकालिएको गुदीलाई घाममा राम्ररी सुकाउनु पर्छ । फलको यसरी सकाएको गुदी नै विक्री योग्य उत्पादन हो ।
Send Business Enquiry Now»




