बैज्ञानिक नामः स्वयरसिया चिराता (Swertia chirayita ( Roxb. ex fleming Karsten)
संस्कृत नामः किरातक , तिक्तक , भूनिम्व
नेवारी नामः “खालु”
वनस्पति परिवारः जेन्सीएनेसी (Gentianaceae)
१. परिचय
यस चिराइतोको विरुवा नेपाल अधिराज्यको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ । यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ । त्यसैले यसलाई सजिलैसंग उखेल्न सकिन्छ । यो विरुवा १ देखि १.५ मि. सम्म अग्लो हुन्छ । डाँठको फेद गोलाकार र माथितिर चारकुने परेको हुन्छ । हरेक आँख्लाको दुबैतिर पात र हाँगा पल्हाएका हुन्छन् । पात १ देखि ११ से.मि. लामो र ०.५ देखि ३ से.मी. चौडा , भालाकृत भै टुप्पो तीखो हुन्छ । पात र डाँठमा रौं हुंदैन र चिल्ला हुन्छन् । कुनै कुनै पातहरु फेदैबाट पल्हाएका हुन्छन् । हरेक आँख्लामा पात र काण्डको कक्षबाट फूलहरु एउटै झुप्पामा निस्केका हुन्छन् । फूलहरु एउटै झुप्पामा हुन्छन् । फूलको रंग पहेलो वा हरियो हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै योनि पाइन्छन् । अरु साधारण फूल झैं यसको पत्रदल ५ वटा हुन्छ । तल्लो भागमा स–साना मसिनो रौंले ढाकिएको दुईवटा ग्रन्थिहरु पाइन्छन् । यो विरुवाको स्वाद ज्यादै तीतो हुन्छ , त्यसैले यसलाई धेरै ठाउँमा तीते वा खालु पनि भनिन्छ ।
२. खेती
चिराइतोको खेती यसको बीउबाट गरिन्छ । खेतीको लागि नतिशितोष्ण जलवायु र आद्रतापुर्ण क्षेत्र अति आवश्यक रहन्छ । खेतमा पानीको राम्रो निकासको व्यवस्था हुनुपर्दछ । कार्तिक , मंसिरतिर बीउ छरिनुपर्दछ । बीउ अति सानो भएको हुंदा पहिले नर्सरी बेडमा लगाउनु उपयुक्त हुन्छ । ६ देखि ८ से.मी. लामो भएपछि बेर्नालाई मलजल गरी तयार गरिएको वारी वा खेतमा सार्नु पर्दछ । नेपालको निम्नलिखित पहाडी जिल्लाहरुमा यसको खेती गर्न सकिन्छः पाँचथर , धनकुटा , ताप्लेजुङ्ग , तेहृथुम , सोलुखुम्बु , संखुवासभा , तनहुँ , लमजुङ्ग ,कास्की , स्याङ्जा , पाल्पा , वाग्लुङ्ग , मुस्ताङ्ग , गोरखा , गुल्मी , बैतडी , बझाङ्ग , तिब्रिकोट , डडेल्धुरा , दैलेख , रुकुम , काठमाडौं , मकवानपुर , देलखा आदि ।
३. संकलन
आषाढ–श्रावणदेखि आश्विन सम्ममा यसको फूल फुल्दछ । फूल परिपक्व भएपछि बोटै उखेल्ने कार्य हुन्छ र चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नु पर्दछ ।
४. सुकाउने तथा संरक्षण
संकलन गरिएका विरुवाहरुलाई लाम मिलाई अन्दाजी १ के.जी. तौल हुने गरि बाँसको बेतले बाँधेर मुालाई घाम वा छहारीमा सुकाउनु पर्दछ । राम्ररी सुकेको र पात नझरेको सग्लो विरुवालाई राम्रो भनिन्छ र धेरै कालसम्म् ओभानो ठाउँमा संचित गरिराख्न सकिन्छ ।
५. उपयोगिता
आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी निम्न रोगहरुमा प्रयोग गरिन्छ । कृमि नाशक , ज्वरान्तक , घाउ , खटिरा, स्वाद र रुचि बढाउने इत्यादि । औलोको ज्वरोमा पनि यो निकै उपयोगी भएको पाईएको छ ।
Send Business Enquiry Now»




