Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

सुगन्धकोकिला

वैज्ञानिक नाम : Cinnamomum glaucescens (Nees ) Drury
नेपाली नाम  : सुन्गंधकोकिला
अन्य नाम  : मलायागिरी , मालागिरी
अंग्रजी नाम  :    Nepali sassafras
वानस्पतिक परिवार
:    Lauraceae

परिचय :
यो अन्दाजी १५ मी. सम्म अग्लो र ५ फिटसम्म मोटाई हुने सदावहार रुख हो । पात अण्डवृत्ताकार (eliptic), ठुलो नशा (mid-rid) स्पष्ट छुट्टिने, मोटो र ४ देखि ५ वटा दाँयाँ बाँयाँ फैलिएका नसाहरु भएका , करिब ७ देखि १० से. मी. चौडाई र १०–२० से.मी. लामा , एकपछि अर्को गर्दै आउने परिवर्तनशील र भेट्नु भएका हुन्छन् । फूल फुल्ने भाग (Inflorescence) मसिना खैरा रौंहरुले ढाकेको हुन्छ । फूल साना सेता रंगका अन्दाजी २–२.५ मि. मी सम्म मोटाई भएका साना साना भेट्नुमा फुल्दछन् । फल गोलाकार करिब ३ से. मी. लम्बाई र १० देखि १२ मी . मि चौडाई भएका र तल्लो भागमा कपजस्तो आकारले ढाकिएको हुनुको साथै पाकेपछि कालो रंगका हुन्छन् ।

प्राकृतिक वासस्थान :

यो वनस्पति मध्य हिमालयदेखि सिक्किम ,भुटान ,मणिपुर र खासी (आसामको पहाड ) मा पाईन्छ । नेपालमा विशेष गरी राप्ती अंचलको ६०० देखि १३६० मीं को उचार्यमा पाईन्छ ।

उपयोगिता :
सुगन्धकोकिलाका मुख्य उपयोगी भागहरुमा यसका फल , बोक्रा र काठ हुन् । फलको बोक्रा (Pericarp) बाट सुगन्धित तेल निकाली अत्तर बनाउनमा प्रयोग गरिन्छ भने तेल निकासी बाँकी छोक्रालाई सिन्केधुप बनाउन प्रयोग गरिन्छ । यसरी निकालिएको तेलबाट विभिन्न प्रकारको सुगन्धित साबुनहरुको साथै अन्य सुगन्धित चिजहरु जस्तै सिंगारका सामान र लुगाफाटाहरु सुगन्धित बनाउन प्रयोग गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको सुगन्धित तेलको साथै काठ र बोक्रामा कपुरको केही मात्रा पाइने हुनाले औषधीको रुपमा प्रयोग गरिन्छ । काठ र बोक्राबाट औषधी बनाउँदा पानीमा ढड्याई रस निकालिन्छ । यो वनस्पतिको काठ फर्निचर , निर्माण सामग्री , हलो जुवा आदिको लागि धेरै मुल्यवान् मानिन्छ ।

मुख्य रसायनहरु :
यसको सुगन्धित तेलमा मुख्य रुपले मिथायल सिनामेट र सिनियोल भन्ने रसायन पाइन्छ र यसको बिउबाट निस्कने फ्याटी एसिडमा लोरिक एसिडहरु पाइन्छन् ।

बजार :
यो वनस्पतिबाट सुगन्धित तेल उत्पादनको साथै विभिन्न प्रकारका औषधीहरु तथा सुगन्धित वस्तुहरु उत्पादन गरिने हुनाले राष्ट्यि तथा अन्तराष्ट्र्यि बजार सुरक्षित छ । तर पनि विभिन्न कारणहरुले गर्दा सम्पूर्ण उत्पादन भारतमा नै निर्यात हुँदै आएको पाइन्छ । श्री ५ को सरकारले गत केही वर्षदेखि विनाप्रशोधन विदेश निर्यात गर्न प्रतिबन्ध लगाएको छ ।

खेती प्रविधि :
यो वनस्पतिको बिरुवा उत्पादन २ प्रकारले गर्न सकिन्छ –
(क) बिउबाट बिरुवा उत्पादन
(ख) कटिङ्गबाट बिरुवा उत्पादन

(क) बिउबाट बिरुवा उत्पादनः
यो वनस्पतिको फल कार्तिक देखि पौष महिनामा पाक्छ । तसर्थ सोही समयमा बिउ संकलन गर्नुपर्दछ । संकलित बिउलाई तुरुन्तै बोक्रा निकाली ३ देखि ७ दिनसम्म घाममा सुकाउनुपर्दछ । यसरी राम्रो सुकिसकेपछि तयारी ब्याडमा ७ देखि १५ दिनभित्रमा राखिसक्नुपर्दछ , नत्र बिउको अंकुरण क्षमता हराउँदछ र विरुवा बिरुवा उम्रदैन ।

नर्सरी विधिः

नर्सरीको लागि जग्गा तयारी गर्दा भरसक पारिलो घाम लाग्ने , छायाँ नपर्ने र दक्षिण फर्किएको र मलिलो माटो भएको उपयुक्त हुन्छ । साथै नर्सरीको लागि पानीको सुविधा र आफूले रेखदेख पुर्याउन सक्ने हुनु अत्यन्तै आवश्यक हुन्छ ।

ब्याड तयारीः
ब्याड बनाउँदा जग्गा राम्रो सँग खनजोत गरी माटोलाई मसिनो बनाउने र माटो मलिलो छैन भने जंगलको पतिङ्गर कुहिएर बनेको माटो वा कम्पोष्ट (गोबर) मल मिलाई राम्रो मलिलो बनाउनुपर्दछ । साथै माटोमा भएको वालुवालाई पनि विचार पुर्याउनु आवश्यक छ । यदि माटोमा बालुवाको मात्रा कम छ भने ३ भागमा १ भाग जति राम्रो चालेको बालुवा मिलाउनुपर्दछ । यसरी तयारी गरेको माटोमा बिउ राम्रोसँग उम्रिन सक्दछ ब्याड बनाउँदा सधैँ जमिनको सतहभन्दा उच्चा र पानी नजम्ने हुनुपर्दछ ।

बिउ उमार्ने विधिः
बिरुवा उमार्न बिउ ब्याडमा रोप्दा प्रत्येक बिउलाई ५ देखि ६ इन्चको फरकमा रोप्नु उपयुक्त हुन्छ । रोप्ने कार्य सकिएपछि ब्याडलाई राम्रोसँग पोलिथिन वा छाप्रो बनाई छोप्नुपर्दछ । यदि पोलिथिनले ढाकेको भएमा त्यसमा साना साना वा झ्याल जस्ता प्वालहरु (हावा छिर्ने ) बनाउनु आवश्यक हुन्छ । यसरी राखेको बिउबाट २० देखि ३५ दिन भित्रमा ५० प्रतिशतभन्दा माथिको संख्यामा बिरुवाहरु उम्रिन्छन् । यसरी उम्रिएका बिरुवाहरुलाई २ देखि ३ महिनासम्म ब्याडमा नै छोडिराख्नुपर्दछ । त्यसपछि मात्र अन्यत्र वा पोलिथिन ब्यागमा सार्नु उपयुक्त हुन्छ । 

(ख) कटिङ्गबाट बिरुवा उत्पादनः
माथि उल्लेखित बिउबाट बिरुवा उत्पादन गर्ने प्रविधि बाहेक पनि बिरुवाहरु कटिङ्गबाट पनि उत्पादन गर्न सकिन्छ । यस प्रविधिमा पहिला ३ वटा आँख्ला हुने गरी करिब ८ देखि १२ इन्चीसम्मका टुक्राहरु २ देखि ३ वर्ष पुगेका हाँगाहरुबाट काट्ने र ती टुक्राहरुलाई करिब ६ देखि ८ इन्चीसम्म उचाई भएको बालुवाको ब्याड बनाई प्रत्येक टुक्रालाई छड्के पारी गाड्ने । यसरी ब्याडमा गाड्दा (राख्दा ) तल्लो आँख्ला माटोभित्र रहने गरि र बीचको आँख्ला ठिक माटोको सतहमाथि पर्ने गरी गाड्नुपर्दछ । यसरी कटिङ्ग राख्दा हर्मोनको सहायता लिन सकिन्छ । हर्मोन प्रयोग गर्दा कटिङ्गको तल्लो भाग (जमिनभित्र गाड्ने भाग ) मा लगाई रोप्नुपर्दछ । कटिङ्ग राख्ने कार्य सम्पन्न भएपछि ब्याडलाई राम्रोसँग पोलिथिन वा छाप्रो बनाई छोप्नु आवश्यक हुन्छ । यस प्रविधिमा पनि बिउ उमार्ने प्रविधिमा पनि जस्तै ब्याडलाई सधैँ चिसो राख्नुपर्दछ । कटिङ्ग प्रायः माघ देखि चैत्र (ठाउँअनुसार ) र आषाढदेखि श्रावणमा राख्नुपर्दछ । यसरी राखेको कटिङ्गमा २ देखि ३ महिनाभित्रमा जरा हालिसक्दछ । यसरी जरा हालेका बिरुवाहरुलाई २ देखि ३ महिनासम्म ब्याडमा नै छोडिदिनु आवश्यक हुन्छ । किनकि जबसम्म जराहरुको रंगमा अलि अलि कालोपना आउदैन तबसम्म बिरुवा अन्यत्र सार्दा मर्ने धेरै सम्भावना रहन्छ ।

खेतीः
सुगन्धकोकिला रुख जातिको बिरुवा भएको हुनाले यसको खेती पनि अन्य रुख जातिको जस्तै तरिकाले गरिन्छ । खेती गर्न माथि उल्लेख गरिएजस्तै पहिला लगाउने ठाउँको माटो , हावापानी , उचाइ , भौगोलिक अवस्थालाई विचार पुर्याउनुपर्ने हुन्छ । खेती गर्दा पहिला बिरुवाको अवस्था र साइज हेरी सोहीअनुसार १ देखि ३ फिट गहिरो खाडल बनाई सो खाडलमा राम्रोसँग मल, कम्पोष्ट मल राखी लगाउँदा राम्रो किसिमले बिरुवा सप्रिन्छ । यस प्रकार बिरुवा लगाई खेती गर्दा प्रत्येक बिरुवा करिब ५ मिटरको फरकमा रोप्नुपर्दछ । रोपिएका बिरुवामा आवश्यक सिँचाइको ्रव्यवस्था गर्नुका साथै रोग नियन्त्रण र गोडमेलमा ध्यान पुर्याउन सक्नुपर्दछ । बिरुवा लगाएको करिब ५ देखि ७ वर्ष भित्रमा उत्पादन दिन सुरु गर्दछ । एउटा रुखबाट उमेरअनुसार २०० देखि ३०० के. जीं सम्म फलको उत्पादन लिन सकिन्छ ।

बाली संकलनः
सुगन्धकोकिलाको फल कार्तिक देखि पौषभित्र पाक्दछ । तसर्थ फल संकलन गर्दा वा बिउ टिप्दा कालो रंगको भएपछि मात्र टिप्नुपर्दछ । यसरी टिपिएका फलहरुमा आफ्नो अंकुरण क्षमतामा कमी नहुने र तेलको मात्रामा पनि कमी रहदैन । फल टिपेपछि ३ देखि ५ दिनसम्म पारिलो घाममा राम्रोसँग सुकाउनु पर्दछ ।  राम्रो सुकिसकेपछि बोरामा वा कपडाको थैलोमा मुख बाँधी हावा लाग्ने ठाउँमा राख्नु पर्दछ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता