Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

Ayurveda Blog

Post your article
Apr 20

शिवपि्रय धतुरो

Posted by: nirmalgyanwali in Ayurveda Print PDF
Tagged in: Untagged 

फागुन महिनामा भगवान् शिवप्रति श्रद्धा प्रकट गर्दै महाशिवरात्रि पर्व मनाइन्छ । यस पर्वमा भगवान् शिवसँग आबद्ध एउटा वनस्पतिको पनि खुबै चर्चा चल्ने गर्छ । त्यो वनस्पतिको नाम हो- धतुरो । शिव आराधनामा धतुरोलाई अपरिहार्य मानिन्छ । धेरैले धतुरोलाई नशालु वनस्पतिका रूपमा मात्र बुझेको पाइन्छ । त्यही भएर भगवान् शिव र धतुरोको सम्बन्धलाई लिएर निक्कै टीका-टिप्पणी हुने गर्दछ तर ध्यान दिनुपर्ने कुरा के हो भने धतुरो एउटा अति गुणकारी औषधि पनि हो ।

धतुरोको उपयोगितासँग परिचित भएकाले ने प्राचीन विद्वान्ले शिव र धतुरोको सम्बन्ध लुकाउने कुनै प्रयास गरेनन् बरु धतुरोको नाम नै शिवपि्रय भनेर राखिदिए । संस्कृतमा धतुरोलाई शिवशेखर भन्ने अर्को नाम पनि दिइएको छ । शैव भूमिको नामले प्रसिद्धि पाएको नेपालमा तराईदेखि पाँच हजार फिटको उचाइसम्म धतुरो पाइन्छ । नेपालको राष्ट्रिय चिकित्सा विज्ञान आयुर्वेदमा धतुरोबाट औषधि बनाउने ज्ञान प्रचुर मात्रामा रहेको छ ।

भगवान् शिवलाई विष विज्ञानका प्रणेताको रूपमा पनि सम्मान गरिन्छ । प्राचीन विष विज्ञान- 'अगदतन्त्र'मा धतुरोलाई उपविष भनिएको छ । विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो । आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ । सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ ।

प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ । यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुनथाल्छ । जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ । आँखा, मुख सबै रातो हुनथाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ । बरबराउने, कपडा लुछ्ने, उप|mने, दौड्नेसम्मका पागलपन सवार हुनथाल्छ । यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुर्‍याइदिन्छ । धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको होस् । अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा हो ।

ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ । यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ । शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ । पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ । ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ । औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ ।

धतुरोको पात विषालु हुँदैन । कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ । छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन् । धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ । मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ । त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन् ।

सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ । नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ । धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ । मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ । यस्तो बेलामा धतुरोलाई भगवान् शिवसँग आबद्ध गरिनु नेपालीहरूका लागि लज्जाको होइन बरु गौरवकै विषय मान्नुपर्दछ ।

-डा. सुशील दाहाल
फागुन, २०६५
Comments (0)Add Comment

Write comment

busy

Blog Login

Ayurveda Tags


Recent News

Ayurveda Health Camp gets crowded
Sunday, 19 June 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

Subscribe Newsletter

Login Form