सृष्टिको आदिकालदेखि शाश्वतरूपमा रहिआएको प्राच्य संस्कृतिको धरोहर आयुर्वेद चिकित्सापद्धतिका प्रवर्तकका रूपमा धन्वन्तरिलाई लिइन्छ । धन्वन्तरि शब्द आयुर्वेद चिकित्सा जगतमा सम्मानित एवं मर्यादित यस अर्थमा पनि छ कि धन्वतरिकै कारण आयुर्वेद यस जगतमा प्रादुर्भाव भएको पौराणिक दृष्टान्त पाइन्छ । भगवान् विष्णुकै अंशकै रूपमा लिइने धन्वन्तरिलाई प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन विशेषरूपले सम्झी आयुर्वेद स्वास्थ्य संस्थामा विविध कार्यक्रमका साथ पूजाआजा गरी मनाउने गरिन्छ । विगत आठ वर्षदेखि धन्वन्तरि जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउँदै आएको समेत पाइन्छ ।
"दिगो स्वास्थ्यको आधार ः आयुर्वेद उपचार" भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । राष्ट्रिय आरोग्य दिवस स्वास्थ्यक्षेत्रमा भए गरेका कामको समीक्षा गर्दै भाबि रणनीति तय गर्ने दिवस पनि भएकाले समग्र स्वास्थ्य एवं आयुर्वेद क्षेत्रको साड्ढोपाड्ढ विश्लेषण गर्ने अवसर पनि हो ।
धन्वन्तरिको उत्पत्ति सम्बन्धमा विभिन्न मतभेद पाइन्छन् । इतिहासलाई केलाउँदै जाँदा समुद्र मन्थनबाट कार्तिक कृष्ण त्रयोदशीकै दिन हातमा अमृतको कलश लिएका जाज्वमान अवतारका रूपमा धन्वन्तरिको प्रादुर्भाव भएको इतिहास पाइन्छ । समुद्रमन्थन कहिले भएको थियो भन्ने सन्दर्भमा वास्तविक तथ्य पाउन नसकिए पनि इतिहासको अध्ययन, ज्योतिषविज्ञानको तथ्य अनुसार समुन्द्रमन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ । एक विदेशी गणितज्ञको मत अनुसार समुद्रमन्थन इसाभन्दा ९४५ वर्ष पूर्व २५ अक्टोबरका दिन भएको मानिन्छ ।
विभिन्न मतलाई विश्लेषण गर्दा धन्वन्तरिको काल आजभन्दा करिब तीन हजार वर्ष पहिले मान्न सकिन्छ । प्रथम समुद्रमन्थनमा उत्पन्न हुनुभएका मानिने धन्वन्तरि नै पछि काशीराज दिवोदासका रूपमा उत्पन्न भएका हुन् भन्ने मान्यतामा उनको समेत जयन्ती यसै दिन मनाउने गरिन्छ । आयुर्वेदका ऐतिहासिक ग्रन्थहरूको समष्टिगत अध्ययनबाट के पुष्टि हुन्छ भने आयुर्वेदको ज्ञान इन्द्रबाट विभिन्न ऋषिले प्राप्त गरेका थिए, जसमा मुख्य रूपमा धन्वन्तरि, भारद्वाज, कश्यप आदि थिए । धन्वन्तरिले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा -काय चिकित्सा) र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्*याए । धन्वन्तरिका शिष्यमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्*याए ।
अहिले चिकित्साविज्ञानमा शल्यचिकित्सा अत्यन्तै समुन्नत अवस्थामा पुगिसकेको छ । मस्तिष्क, मुटु, फोक्सो, मृगौला जस्ता संवेदनशील अड्ढको समेत शल्यचिकित्साबाट उपचार सम्भव भएबाट चिकित्सा विज्ञानमा ठूलो उपलब्धि हासिल भएको वर्तमान परिपे्रक्ष्यमा शल्यचिकित्साको बीजारोपणको प्रमुख श्रेय भगवान् धन्वन्तरिलाई नै जान्छ । एलोपैथिक चिकित्साविज्ञानमा समेत शल्यचिकित्साका पिता -फादर अफ सर्जरी) का रूपमा धन्वन्तरिकै शिष्य सुश्रुतलाई मानिएबाट धन्वन्तरि जयन्तीको महत्त्व झनै प्रष्टिन जान्छ ।
धन्वन्तरि जयन्ती वा राष्ट्रिय आरोग्य दिवस स्वास्थ्यक्षेत्रमा भए गरेका कार्यलाई सम्झाउने, विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र नयाँ उत्साह र उमङ्गका साथ आगामी दिनमा कार्यक्षेत्रमा उत्रिन प्रण गर्ने दिन हो । धन्वन्तरि जयन्ती ऐतिहासिक एवं पौराणिक तवरले मात्र नभई व्यावहारिक तवरले पनि महत्त्व राख्ने दिवस हो । विश्वका अन्य मुलुकमा चिकित्सा पद्धति केवल जादु, टुनामा मात्र सीमित हुँदा भारतीय उपमहाद्वीप -नेपालसहित) आयुर्वेद चिकित्साकै कारणले वैज्ञानिक धरातलमा उभिइसकेको इतिहास पाइन्छ । हिप्पोक्रेट्स, पाइथागोरस एवं अन्य व्यक्तिले आयुर्वेदका आधारमा सिद्धान्तहरू प्रस्तुत गरेर पाश्चात्य जगतमा चिकित्साशास्त्रको सुरुवात गरेको पाइन्छ । कालखण्डले हामीलाई ठगेको भनौं वा विभिन्न सङ्कटपूर्ण परिस्थितिबाट गुज्रनुपरेको कारणले प्राच्यक्षेत्रमा आयुर्वेदको विकास हुन नसकेको इतिहास पाइन्छ, जसको फलस्वरूप वर्तमान सन्दर्भमा हाम्रो स्वास्थ्यस्थिति विश्व मानचित्रमा एकदमै गिर्दो अवस्थाबाट गुजि्रराखेको तथ्य पाउन सकिन्छ ।
आयुर्वेद हाम्रो देशमा सदिऔंदेखि चलिआएको चिकित्सा पद्धति हो ।
वि.सं. १९९७ सालमा मात्र आधुनिक चिकित्साको सूत्रपात भएको नेपालमा त्यो समयभन्दा पहिला सम्पूर्ण जनसङ्ख्या स्वास्थ्योपचारार्थ आयुर्वेदप्रति निर्भर थियो । अहिले पनि आयुर्वेद चिकित्सा सेवाले स्वास्थ्य सेवातर्फ महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । देशमा ७० प्रतिशतभन्दा बढी जनता जडीबुटीसँग पूर्ण सान्निध्य राख्ने आयुर्वेदमा निर्भर रहेको पाइन्छ । जडीबुटीबाट गरिने उपचार पद्धतिप्रति नेपालीहरूको आस्था जिउँका तिउँ रहेको पाइन्छ । जैविक विविधताको भण्डार नेपालमा दुर्लभ एवं मूल्यवान वनस्पति पाइन्छन् । औषधीय गुणले उच्च मानिएका यार्चागुम्बा, पाँचऔंले, जटामसी, लोठसल्ला जस्ता वनस्पतिले सुशोभित नेपालमा आयुर्वेदको व्यापक सम्भावना भएको मान्न सकिन्छ । नेपाली जडीबुटीको अन्तर्राष्ट्रिय बजारमा व्यापक माग रहेको पाइन्छ ।
आयुर्वेद चिकित्सापद्धति आज पश्चिमी राष्ट्रमा लोकपि्रय बन्दै गइरहेको छ । अनुसन्धान एवं खोेजबाट आयुर्वेद औषधी विभिन्न रोगमा प्रभावकारी सिद्ध भइसकेका छन् । विश्वकै अति सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिकामा गरिएको अध्ययन अनुसार त्यहाँका आधाभन्दा बढी जनसङ्ख्या वैकल्पिक चिकित्साप्रति आकषिर्त भएको पाइन्छ । अमेरिकी जनताले प्रतिवर्ष ८० बिलियन डलर वैकल्पिक चिकित्सासेवा प्राप्त गर्न खर्च गर्ने गर्छन् । त्यत्रो ठूलो जमात जनसङ्ख्याको निष्ठा, विश्वास एवं पहिलो प्राथमिकता वैकल्पिक चिकित्सा पद्धति जसमा आयुर्वेद प्रमुख एवं मुख्य भएबाट आजको परिप्रेक्ष्यमा आयुर्वेदको लोकपि्रयता सहजै अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा आयुर्वेदप्रति चासो बढ्दै गइरहे पनि हाम्रो देशमा यसको समयानुकूल विकास हुन नसक्नु विडम्बनाको कुरा भएको छ । आयुर्वेदको विकासमा प्रत्यक्ष सरोकार राख्ने आयुर्वेद शिक्षा, चिकित्सा सेवा र औषधि उत्पादन एवं जडिबुटी संरक्षण जस्ता पक्षको विकास एवं प्रभावकारितामा जोड दिन नसकिएको जनगुनासो पाइन्छ । आयुर्वेद क्षेत्रमा उच्चस्तरीय जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा गुणस्तरयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने देखिन्छ । आधुनिक चिकित्सासेवाको तुलनामा आयुर्वेद चिकित्सा सेवालाई गरिएको लगानी एकदमै न्यून देखिन्छ । आयुर्वेदतर्फ करिब सम्पूर्ण स्वास्थ्य बजेटको दुई/तीन प्रतिशत मात्र लगानी गरिएको पाइन्छ । आयुर्वेद चिकित्सा सेवालाई विकास एवं विस्तार गर्दै गुणस्तरयुक्त स्वास्थ्यसेवा प्रदानका लागि अभिप्रेरित गर्न योजना बनाई अगाडि बढ्नुपर्ने देखिन्छ ।
जडीबुटीको क्षेत्रमा हामी जतिसुकै धनी भए पनि चिकित्साका लागि विदेशी औषधिप्रति निर्भर छौं । विदेशी औषधि कम्पनीको आधिपत्य नै रहेको नेपालमा त्यस्ता कम्पनीले करिब छ अर्ब रूपियाँको वाषिर्क कारोबार गर्छन् । हामीकहाँ बहुमूल्य जडीबुटी विद्यमान हुँदाहुँदै पनि नेपालको खुला सिमाना, सरकारी नीतिमा अस्पष्टता र असामयिक लचकताले एकातर्फ जडीबुटीको चोरी निकासी बढ्दै गइरहेको छ भने अर्कोतर्फ स्वदेशी औषधि कम्पनी उपेक्षित हुन पुगेका छन् । त्यसैले औषधि उत्पादनतर्फ ध्यान दिई सिंहदरबार बैद्यखानालाई क्षेत्रीय स्तरमा समेत विस्तार गरी औषधि आयातमा कमी ल्याउनुपर्ने देखिन्छ । त्यसो भएमा गुणस्तरयुक्त औषधि सुपथ मूल्यमा उत्पादन गर्नसकिने मात्र होइन, स्वास्थ्य सेवाको विस्तारमा एउटा ऐतिहासिक योगदान पुग्ने देखिन्छ ।
अन्तमा, पूर्वीय संस्कृतिको धरोहर, हाम्रो मौलिक चिकित्सा आयुर्वेदलाई अझ समुन्नत एवं संस्थागत रूपमा विकास एवं विस्तार गर्न यसप्रति समर्पित व्यक्तिहरूले आजकै दिनमा प्रतिज्ञा गरी कटिबद्ध भई लाग्नसकेमा "राष्ट्रिय आरोग्य दिवस-२०६५" वा धन्वन्तरि जयन्तीको सार्थकता पूरा हुने देखिन्छ ।
source: ekantipur.com

Ayurveda Health Camp gets crowded