काठमाडौं, २६ कात्तिक : सिंहदरबार वैद्यखाना विकास समितिले ३६२ वर्षभन्दा पुराना आयुर्वेद चिकित्सा पद्धतिलाई जीवन्त राख्न वैद्यखानामा आयुर्वेद सङ्ग्रहालय निर्माण गर्ने तयारी गरिरहेको छ ।
आयुर्वेद चिकित्सा पद्धतिको क्रमिक विकास कसरी भयो भन्ने तथ्यलाई संरक्षण र सम्वर्द्धन गर्ने मुख्य उद्देश्यले वैद्यखानामा आयुर्वेद सङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।
समितिका प्रबन्ध निर्देशक डा.माधवप्रसाद लम्सालले आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति भन्ने गरेको भए तापनि त्यसप्रकारको जनमानसमा अनुभूति हुन नसकेको बताउनुभयो । लामो इतिहास बोकेको आयुर्वेद चिकित्सा पद्धतिलाई जीवन्त दिन आवश्यक भएको बताउँदै निर्देशक डा. लम्सालले प्रताप मल्लको पालादेखिको ऐतिहासिक पद्दतिलाई विश्वसामु परिचित गराउन पनि आयुर्वेद सङ्ग्रहालयको आवश्यक छ । उहाँले आयुर्वेद सङ्ग्रहालय निर्माण गर्न यसै आर्थिक वर्षदेखि सुरु गर्ने जानकारी दिनुभयो ।
सदीयौंदेखि शास्त्रीय ढङ्गबाट गुणस्तरयुक्त र बहुउपयोगी आयुर्वेद औषधि निर्माण गर्दै आएको यस वैद्यखानाले हाल १६० प्रकारका औषधि निर्माण गरी बजारमा विक्री गर्छ ।
समितिका निर्देशक डा. लम्सालले ०६४।०६५ को प्रतिवेदनमा उल्लेख भएका सामग्रीहरूको मूल्य खुलाई वैद्य स्टोर मेनेजमेन्टको प्रारम्भिक प्रक्रिया थालिएको बताउनुभयो । उहाँले वैद्यखाना विकास समितिको सम्पत्ति विवरणका बारेमा भन्नुभयो, 'जिन्सी र नगद गरी वैद्य खानाको सम्पत्ति २८ करोड २३ लाख ६२ हजार ४४७ छ । जसअनुसार जिन्सीमा २६ करोड ५५ लाख ६५ हजार ९२७, प्याकिङ सामग्रीतर्फ ४१ लाख १८ हजार ९१८ र कच्चा पदार्थतर्फ एक करोड २६ लाख ७७ हजार ६०२ रहेको छ ।
सबभन्दा बढी गत आर्थिक वर्ष २०६४।०६५ मा तीन करोड ९१ लाख ५६ हजारभन्दा बढी औषधि वैद्यखानाले विक्री गर्न सफल भएको जानकारी पनि निर्देशक डा. लम्सालले दिनुभयो । आयुर्वेद क्षेत्रमा एउटै नारा हुनुपर्ने उल्लेख गर्दै उहाँले सरकारीस्तरबाट बन्दै गरेको निजामती अस्पतालमा आयुर्वेद शाखा खोल्नुपर्छ भन्नुभयो । निर्देशक डा. लम्सालले एउटै छातामुनि आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
आयुर्वेद चिकित्सालाई सम्पन्न र ग्रामीण क्षेत्रसम्म विस्तार गर्न औषधिका लागि चाहिने कच्चा पदार्थ वैद्यखानाले सोझै समुदायसँग सम्पर्क गर्न पाउनुपर्छ भन्नुभयो । उहाँले कृषक तथा वन उपभोक्ता समितिहरू अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो परेको र ठेकेदारी प्रणालीका कारण जडीबुटी उत्पादन र
सङ्कलन गर्ने किसानलाई कम गर्न पनि वैद्यखानाले प्रत्यक्ष कृषकहरू कहाँ गएर कच्चा पदार्थ सङ्कलन गर्न पाउनुपर्छ भन्नुभयो ।
विभिन्न ब्रान्ड र नारामा सडकको चोकचोकमा विक्री भइरहेको आयुर्वेदिक औषधिप्रति निर्देशक डा. लम्सालले आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले त्यसका बारेमा नियमन गर्नुपर्छ भन्नुभयो ।
आयुर्वेदिक औषधि उत्पादन क्षमता यस आर्थिक वर्षमा वृद्धि गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, 'यसवर्ष हामी उत्पादनमा फड्को मार्नेछौं । ग्रामीण समुदायसँग जडीबुटी लिने प्रक्रियामा छौं ।’